काठमाडौं - आन्तरिक राजश्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर नतिजा सार्वजनिक गरिएको छ। शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका हुन्। 

शुक्रबार बिहान अर्थमन्त्रालयमा एक कार्यक्रमका बीच अर्थमन्त्री स्वर्णिम वाग्लेले विजेता घोषणा गरेका हुन्। विजेताले कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गरेको आन्तरिक राजश्व विभागले जनाएको छ।

आन्तरिक राजश्व विभागका अनुसार बम्पर उपहार जित्ने उपभोक्ताको संक्षिप्त विवरण विभागको वेबसाइटमा प्रकाशन गरिनेछ। बम्पर विजेतासँगै पहिलो १५ दिनमा अन्य १५ उपभोक्ताहरूले पनि एक/एक लाख रुपैयाँ नगद उपहार जितेका छन्।

साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा कारोबार गरी बिल अपलोड गरेका उपभोक्ताहरू यो उपहार प्रक्रियामा सहभागी भएका थिए। हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टीपछि एक–एक लाख रुपैयाँ र साउन १५ गतेसम्मका सबै उपभोक्तामध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ नगद जित्नेछन्। 

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि अनुसार उपभोक्ताले मुख्य गरी दुई तरिकाबाट यो उपहार कार्यक्रममा सहभागी भई नगद पुरस्कार जित्न सक्नेछन्।  बैंक वा वालेटको क्युआर कोडमार्फत वस्तु तथा सेवा खरिद गरी भुक्तानी गरेका उपभोक्ताहरू यो प्रणालीमा स्वतः जोडिनेछन्। उनीहरूले अलग्गै आवेदन दिनु पर्दैन, तर दाबी गर्दा भने खरिद गरिएको बिल अनिवार्य रूपमा साथमा हुनुपर्नेछ।

नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने विक्रेतासँग अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्नुपर्नेछ। उक्त बिल आन्तरिक राजस्व विभागको आधिकारिक वेबसाइटमा गएर अपलोड गरेपछि प्राप्त हुने कुपनका आधारमा उनीहरू उपहार प्रक्रियामा सहभागी हुन पाउनेछन्।

अर्थमन्त्री डा.वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत उपभोक्तालाई बिल लिने संस्कृतिको विकास गराउन र करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए। विभागका अनुसार अबदेखि यो कार्यक्रम नियमित रूपमा सञ्चालन हुनेछ। हरेक अघिल्लो महिनाको १ देखि १५ गतेसम्मको कारोबारका लागि पछिल्लो महिनाको १६ गते र १६ गतेदेखि बाँकी दिनको कारोबारका लागि महिनाको अन्तिम दिन उपभोक्ताहरूका लागि उपहार घोषणा गरिनेछ।