काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलल अर्थतन्त्र जोगाउन सक्षम पाइलट खोज्ने र इन्जिन चेक गर्ने अवस्था आएको भन्दै उनले राम्रो बनाउन लागिपर्ने बताएका छन् ।
मैले जिम्मेवारी सम्हालेदेखि नै अर्थतन्त्रको गहिरो अध्ययन गर्न लागेको छु । कोभिड, नाकाबन्दी र भूकम्पको सजिलै सामना गरेको नेपालको अर्थतन्त्र किन संकटमा पुगेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
अहिले अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेता पनि यसलाई जोगाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । ‘समस्या समाधान गर्न सार्थक र परिणामुखी निर्णय गर्ने योजनामा छु,’ उनले भने, ‘राजस्व परिचालन, करको दायरा र राजस्व प्रशासन, पुँजीगत खर्च गर्नमा सुधार गर्नेमा मेरो ध्यान जानेछ ।’
अनुत्पादक क्षेत्रको खर्च घटाउँदै उत्पादनतर्फ अघि बढ्ने, आर्थिक अनुशासनमा ध्यान दिने र मितव्ययी बन्ने अर्थमन्त्री पौडेलले बताए । निजी क्षेत्र र सरकार एकअर्काका पूरक भएर समस्या समाधान गर्ने उनले बताए ।
यस्तैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पटकपटक अर्थतन्त्र दुर्घटनाबाट जोगिएको बताए । सुरक्षित अवतरण गराउन इन्जिन र पाइलट सही आएकाले अर्थतन्त्र छिट्टै लयमा फर्किने विश्वास व्यक्त गरे । पर्यटनभन्दा शिक्षाको नाममा बढी पैसा बाहिरिएकोमा सचेत हुनुपर्ने उनको भनाइ छ । नयाँ उद्योग खोल्नभन्दा क्षमतामा चलाउन ध्यान दिनुपर्ने उनले बताए । ‘अर्थतन्त्र शिथिल भइरहेकाले उत्पादन, रोजगारी र निर्यात बढाउन योजना ल्याउनुपर्छ’ उनले भने ।
हाउजिङमा कर्जा खुकुलो बनाउँदै सिमेन्ट र छडको व्यापार बढाउनुपर्नेमा जोड दिए । अर्थविद् डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र झन् खस्किने अवस्था देखिएको बताए । विश्व अर्थतन्त्र नै मन्दीमा जाने संकेत देखिएको उनको भनाइ छ ।
निक्षेपमा एक प्रतिशत ब्याज घटेसँगै कर्जामा दुई प्रतिशत ब्याज घट्ने उनले बताए । स्थानीय तहबाटै जग्गाको वर्गीकरण गर्नुपर्ने उनले बताए । चालू पूँजी कर्जा भन्दै ऋण लिएर स्थिर पुँजीमा लगानी गर्नु उचित नभएको उनले बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति र वित्त नीतिबीच समन्वय नहुँदा संकट आएको बताए। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग साझेदार गर्नुपर्ने उनले आग्रह गरे । अनुदान घट्दै गएको र ऋण बढ्दै गएको उनले बताए । चालू खर्च बढी हुनु र पुँजीगत खर्च हुन नसक्नु पनि चिन्ताजनक अवस्था रहेको उनको भनाइ छ ।

0 comment