काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १ सय २ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका हुन् ।
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पक्षमा १ सय २ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहे ।
पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस,लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिंदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।
त्यस्तै,नेपाली कांग्रेस संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि पक्षमा मतदान गरेको छ ।
मुख्यमन्त्री यादवले अब नेकपा एमालेका २४,कांग्रेसका २२,जसपाका १६, जनमत पार्टीका १३,लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७,नागरिक उन्मुक्ति पार्टीका १,राष्ट्रिय प्रजातन्त्र पार्टीका १,नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरु सहित १०२ प्रदेश सांसदको समर्थन छ ।
प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।
0 comment