काठमाडौं - पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धन्सार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बाराको अमलेखगञ्जबाट १२ हजार लिटर पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर बिहान करिब ५:३० बजे सडक छेउमा दुर्घटनामा परेको हो। ट्याङ्कर पल्टिएलगत्तै आगो लागेको प्रहरीले जनाएको छ।
चालकले दिएको प्रारम्भिक बयानअनुसार जङ्गलबाट अचानक निस्किएको मृगलाई बचाउने क्रममा ट्याङ्कर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनाबाट पेट्रोलसहितको ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि कुनै पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।
घटनाको सूचना पाउनासाथ प्रहरी नायब उपरीक्षक थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरका इन्स्पेक्टर राजेन्द्र थापा मगरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। चन्द्रपुर नगरपालिका, बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
प्रहरीले ट्याङ्कर चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएको छ। घटनाका बेला ट्याङ्करमा चालक गुरुङ मात्र सवार थिए। आगलागीका कारण केहीबेर अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्ग अहिले सञ्चालनमा आइसकेको छ।


0 comment