काठमाडौं - समाजसेवा, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणलाई लक्ष्य बनाएर स्थापना भएको ‘नारी दृष्टि नेपाल’ले मानव सेवाबाट आफ्नो अभियान सुरु गरेको छ।

संस्थाले स्थापना दिवसको अवसरमा काठमाडौंको धुम्बाराहीस्थित लायन्स वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक आमाहरूलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ। कार्यक्रममा सहभागीहरूले वृद्ध आमाहरूसँग भेटघाट गर्दै सम्मान र आत्मीयता साटेका थिए।

कार्यक्रममा प्रमुख अतिथि एमसीसी लायन केशर बी. भण्डारीले मानव सेवाबाट संस्थाको पहिलो कार्यक्रम सुरु हुनु सकारात्मक भएको बताए। वृद्धाश्रममा सेवा गर्दा आत्मिक सन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै उनले संस्थाले सामाजिक क्षेत्रमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे। संस्थाका आगामी अभियानमा आफ्नो सहयोग रहने प्रतिबद्धता पनि उनले जनाए।

विशिष्ट अतिथि पूर्वसभासद तथा समाजसेवी नरोत्तमलाल वैद्यले सामाजिक रूपान्तरणका लागि यस्ता अभियान आवश्यक रहेको बताउँदै संस्थालाई उद्देश्यअनुसार निरन्तर अघि बढ्न शुभकामना दिए ।

कार्यक्रममा लायन्स वृद्धाश्रमका सञ्चालक धनराज मन्देल र रामचन्द्र सुरत पनि सहभागी थिए। कार्यक्रमको अध्यक्षता संस्थाकी संस्थापक अध्यक्ष लायन डा. भद्रा पाराजुली भण्डारीले गरेकी थिइन्।

अध्यक्ष भण्डारीले संस्थाले मानव सेवासँगै महिला सशक्तीकरण, सीप विकास, रोजगारी प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्ने बताइन्। राहत वितरणमा मात्र सीमित नरही महिलालाई आत्मनिर्भर र सामाजिक रूपमा सक्रिय बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।

‘हाम्रो यात्राको पहिलो खुड्किलो मानव सेवा हो। सेवा, सहयोग र सहकार्यलाई आधार बनाएर महिला सशक्तीकरण तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई क्रमशः अघि बढाउनेछौं,’ उनले भनिन्।

संस्थाले आवश्यकता र सम्भावनाका आधारमा आगामी दिनमा विभिन्न सामाजिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै समाज रूपान्तरणमा योगदान पुर्‍याउने जनाएको छ।