काठमाडौं - दाङका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष अप्रेसनका क्रममा  हातहतियार बरामद गरिएका जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत खोजी अभियान चलाएको थियो ।

यसरी बरामद भएका हतियारहरु इलाका प्रहरी कार्यालय कमिरेचौर अनतर्गत बंगलाचुली गाउँपालिका–५ स्थित हिमाल लालीगुराँस सामुदायिक वन (७ नाल), खारखोली सामुदायिक वन (९ नाल), मुर्कुटीस्थित बंगलाचुली सामुदायिक वन (१ नाल), आरुनिस्थित लहरे सामुदायिक वन (५ नाल), बंगलाचुली–४ स्थित मौवालेख सामुदायिक वन (३ नाल) र लवाडे भत्कुले सामुदायिक वन (५ नाल) गरी ३० नाल तथा  इलाका प्रहरी कार्यालय अमिलिया अन्तर्गत लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वनको खैरेनी जंगलबाट ७ नाल, प्रहरी चौकी रामपुर को बंगलाचुली गाउँपालिका–६ ठुलीचौरस्थित राष्ट्रिय वन (६ नाल) र बंगलाचुली–८ स्थित न्यु कालिका सामुदायिक वन (७ नाल) गरी कुल १३ नाल छन् ।

प्रहरी चौकी हासिपुरले बंगलाचुली गाउँपालिका–८ स्थित नव चेतनशील सामुदायिक वन (३ नाल) र न्यु कालिका सामुदायिक वन (२ नाल) गरी  ५ नाल बरामद गरेको छ ।  प्रहरी निरीक्षक एकबहादुर नेपालीले  बरामद गरिएका सबै एकनाले भरुवा बन्दुक रहेको बताए ।  यस  विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।