काठमाडौं - यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् । भारतका जहाजरानी मन्त्री सर्बानन्द सोनोवालले एमएसभी फैज नूरे ओलिया जहाजमा सवार सबै १४ जनालाई सकुशल उद्धार गरिएको बताएका छन् । उद्धार गरिएकामध्ये १३ जना भारतीय नागरिक थिए ।
सोनोवालले यसलाई ‘कुनै उक्साहट बिनाको आक्रमण’ भन्दै कडा निन्दा गरेका छन् । उनले यस क्षेत्रमा नाविकहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने पनि बताएका छन् । हालसम्म जहाजमाथि आक्रमण कसले गर्यो भन्ने स्पष्ट भएको छैन । तर साउदी समर्थित यमनी सरकारले यस आक्रमणका लागि हूती विद्रोहीहरूलाई जिम्मेवार ठहराएको छ ।
यो घटना लाल सागरमा जहाजमाथि भइरहेका पछिल्ला आक्रमणहरूको शृंखलाकै पछिल्लो कडी हो । यस वर्ष फेब्रुअरीमा इरानले होरमुज जलडमरूमध्य बन्द गरेपछि केही तेल ट्यांकरहरूले वैकल्पिक रूपमा लाल सागरको समुद्री मार्ग प्रयोग गरिरहेका थिए । पछि भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भइरहेका आक्रमणलाई गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।


0 comment