काठमाडौं - सिरहाको लहान नगरपालिका–२२ सलोखवरीबाट प्रहरीले अवैध हतियारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा चेकजाँच गर्दा २० वर्षीय सबरजीत दासले लगाएको पाइन्टको दाहिने गोजीबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पेस्तोल एक थान बरामद गरेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सोही स्थानका करिब २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दासलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

बरामद भएको पेस्तोल तथा म्याग्जिनसहित तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।