काठमाडौं - हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ हर्मुज) पुनः सञ्चालन गर्ने विषयमा कूटनीतिक पहल अघि बढेको संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन साता यताकै न्यून स्तरमा झरेको छ।
मंगलबार अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै ५ प्रतिशतले घटेर प्रति ब्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि ५ प्रतिशतभन्दा बढी घटेर ७६ डलर प्रति ब्यारेलमा सीमित भएको छ। दुवै सूचक जुलाई १३ यताकै न्यून स्तरमा झरेका हुन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले हर्मुज जलडमरूमध्यमार्फत जहाज आवतजावत पुनः सहज बनाउने विषयमा भएको छलफलमा प्रगति भएको बताएका छन्। उनीहरूका अनुसार सहमति भएमा यही साताभित्र जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा आउन सक्ने सम्भावना छ।
बेसेन्टले आज वा भोलिसम्म जलडमरूमध्य खोल्ने र यो द्वन्द्वलाई सामान्य अवस्थातर्फ लैजाने सहमति हुन सक्ने बताएका छन्। रुबियोले पनि अमेरिकी विदेश मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै वार्तामा उल्लेखनीय प्रगति भएको तर अन्तिम सहमति हुन बाँकी रहेको बताए। यद्यपि सम्भावित सहमतिको स्वरूप वा सर्तबारे अमेरिकी पक्षले कुनै विवरण सार्वजनिक गरेको छैन।
उता, इरानले भने आफू अमेरिकासँग प्रत्यक्ष वार्तामा नरहेको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले इरानले अमेरिकासँग कुनै वार्ता नगरेको र त्यसको सट्टा मध्यस्थकर्ताको भूमिका खेलिरहेको ओमानसँग हर्मुज जलडमरूमध्यमार्फत जहाज सञ्चालनका लागि नयाँ संयन्त्रबारे छलफल गरिरहेको बताएका छन्। उनका अनुसार ती वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेका छन्।
अमेरिका र इरानबीचको कूटनीतिक प्रयासमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको कतारले पनि द्वन्द्वको समाधानका लागि प्रयास जारी रहेको जनाएको छ। तर हालसम्म अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको स्वीकार गरेको छ।


0 comment