काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित बागमती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन् । 

मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद पाण्डेले करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमा नै जानकारी नभएर केही समय समन्वयमा अभाव देखिएको भन्दै केहिसमयपछि नै सेनासँग मिलेर करिडोर विस्तार गरिएको प्रष्ट पारेका हुन् । 

चुनावी अभियानका क्रममा स्थानीय जनताले राखेको माग अनुसार अधिकार सम्पन्न बागमती, केभिडिए र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरेर बाटो खोलिएको उनले बताए ।

सांसद पाण्डेले करिडोर खोल्ने क्रममा त्यहाँ नेपाली सेनाको टुकडी छ भन्ने थाहा पाएपछि समन्वय गर्नलाई अधिकार सम्पन्न बागमतीको अध्यक्षलाई जिम्मा दिइएको उल्लेख गरे ।

बाहिर आएका भिडियोहरु समन्वय गर्न केही मिनेट ढिलाई भएको अवस्थाको रहेको उनको भनाइ छ । त्यसपछि भने नेपाली सेनासंग मिलेर नै करिडोर खुलाइएको उनले बताए ।

सेना किन रिसायो त ? भन्ने प्रश्नमा सांसद पाण्डेले सेना रिसाएको जस्तो आफूलाई नलागेको र बजारको हल्ला पछि नलाग्न आग्रह गरे ।

नेपाली सेनाले सधैँ नागरिक सर्वोच्चताको सम्मान गर्ने र देशको सेवामा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले आफूले नेपाली सेना, राष्ट्रियता र बर्दीको सधैँ सम्मान गर्ने धारणा राखे ।  तर सामाजिक सञ्जालमा बाहिरिएको भिडियोमा सेनाका अधिकृतले काम रोक्न पटकपटक विनम्र अनुरोध गर्छन् तर पाण्डे सुन्न तयार देखिदैनन् ।