काठमाडौं - नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ ।
काठमाडौं उपत्यकामा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै निगमले साउन १६ गते शनिबार देखि टेकुस्थित आफ्नो कार्यालयबाट समेत ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा अभाव भएको भन्ने समाचार आएपछि र उपभोक्ताको गुनासो प्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले ग्यास आपूर्ति सहज बनाउन थप कदम चालिएको जानकारी दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ।
निगमका अनुसार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू वितरण गरिनेछ ।
निगमले सम्पूर्ण ग्यास उद्योगी तथा विक्रेताहरूलाई बजारमा सहज आपूर्ति मिलाउन र घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गर्न अनुरोध गरेको छ । बिक्रीलाई व्यवस्थित बनाउन विक्रेताहरूले खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राख्नु पर्नेछ ।
यदि बजारमा ग्यास नपाएको खण्डमा उपभोक्ताहरूले कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् ।


0 comment