काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि जारी कर्फ्युका कारण अलपत्र परेका २८९ वटा सवारी साधनलाई नेपाल प्रहरीले स्कटिङ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु जारी गरेपछि सयौं यात्रु तथा मालवाहक सवारी साधन सुनसरीको पकली र सप्तरीको भारदह क्षेत्रमा रोकिएका थिए । अलपत्र परेका यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई गन्तव्यसम्म पुर्याउन प्रहरीले स्कटिङको व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार कोशी ब्यारेजको पूर्वतर्फ जानुपर्ने यात्रुवाहक बस, मालवाहक ट्रक तथा अन्य गरी २२१ वटा सवारी साधनलाई स्कटिङ गर्दै पूर्वतर्फ पठाइएको छ । त्यसैगरी इटहरीको पकलीबाट पश्चिमतर्फ जाने ६८ वटा सवारी साधनलाई पनि सुरक्षा व्यवस्थासहित कोशी ब्यारेज पार गराई गन्तव्यतर्फ पठाइएको उनले बताए ।
गत आइतबारदेखि देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि सुनसरीको अवस्था तनावग्रस्त बनेको थियो । सुरक्षा व्यवस्था कडा पारिएसँगै बिहीबार बिहानदेखि जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । बजार, यातायात र सर्वसाधारणको आवागमन विस्तारै सहज हुन थाले पनि जिल्ला प्रशासन कार्यालयले भने कर्फ्यु आदेश यथावत् राखेको छ । जिल्ला प्रशासनले शान्ति–सुरक्षा पूर्ण रूपमा सुनिश्चित भएपछि मात्र कर्फ्युबारे थप निर्णय गरिने जनाएको छ ।


0 comment