काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको घटनाको विषयलाई लिएर सरकारलाई शान्तिसुरक्षा मजबुत बनाउन निर्देशन दिएको छ।
आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
दुई समुदायबीच भएको झडप र त्यसक्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैआयोगले सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग संयमता अपनाउन अपिल गरेको छ।
घटनाको मानव अधिकारीय पक्षबाट अनुसन्धानसमेत सुरु गरिएको आयोगले जनाएको छ। विज्ञप्तिअनुसार आयोगको कोशी प्रदेश कार्यालय, विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ। सो क्रममा प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयवासीसँग घटनाबारे जानकारी संकलन भइरहेको आयोगले उल्लेख गरेको छ।
प्रारम्भिक अनुगमनका क्रममा पोलमा झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको, डिजे बजाउने क्रममा विवाद चर्किएको र त्यसपछि दुई पक्षबीच तोडफोड तथा झडप भएको पाइएको आयोगले जनाएको छ।
झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको तथा नौ जना घाइते भएको आयोगले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ।


0 comment