काठमाडौं - सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा कर्फ्युको उल्लङ्घन गर्दै स्थानीयवासीले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रदर्शनका क्रममा कप्तानगंज क्षेत्रको अवस्था तनावग्रस्त छ । सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ ।
आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा बिहानैदेखि प्रदर्शन भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न ५ स्थानमा कर्फ्यु जारी गरेको छ ।
दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने ९ जना घाइते भएका छन् । उनीहरुको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
झडपमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । कप्तागन्ज क्षेत्रमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ ।
यसैबीच सुनसरी घटनालाई लिएर केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ । आज साँझ पाँच बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो ।
गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि रहन्छन् ।बैठकले सुनसरी घटनाको विषयमा आवश्यक रणनीति बनाउने बताइएको छ ।
सरकारले उक्त घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिसकेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।


0 comment