काठमाडौं - चिकित्सकमाथि भएको हातपातको विरोधमा वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। आइतबारदेखि आकस्मिक सेवासमेत बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

शनिबार आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। सो क्रममा चिकित्सकमाथि हातपातसमेत भएको थियो। घटनापछि अस्पताल प्रशासनले उपचारमा संलग्न पाँच स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्म जिम्मेवारीबाट हटाएको छ।

नेपाल चिकित्सक संघ, नारायणी क्षेत्रीय समितिले दोषीमाथि कडा कारबाही, निलम्बित चिकित्सकहरूको निलम्बन फुकुवा लगायत चारबुँदे माग राख्दै आन्दोलन घोषणा गरेको छ। माग पूरा नभएसम्म आकस्मिकसहित सबै सेवा बन्द रहने चिकित्सकहरूले बताएका छन्।