काठमाडौं - कल्पतरु प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्दै आएको कल्पतरु द्वैमासिक पत्रिकाको २५औँ वर्ष प्रवेशको अवसरमा प्रदान गरिने वार्षिक पुरस्कार तथा सम्मान २०८२/०८३ घोषणा गरेको छ।

प्रतिष्ठानका अनुसार कल्पतरु पत्रिकामा वर्षभरि प्रकाशित सिर्जनाको समीक्षा गरी समीक्षकको सिफारिसका आधारमा प्रदान गरिने कल्पतरु वर्ष सर्वोत्कृष्ट पुरस्कार कल्पतरु अंक–११८ मा प्रकाशित ‘प्रतिमा’ कथाका लागि वरिष्ठ साहित्यकार बाजुराम पौडेललाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारसँगै उहाँलाई नगद रु. १०,००० सहित सम्मान गरिनेछ।

त्यसैगरी, कल्पतरु बाल साहित्य प्रोत्साहन पुरस्कार–२०८२ कल्पतरु अंक–११८ मा प्रकाशित कविताका लागि युगल नारायण पन्त (कक्षा–८, लर्ड्स लाइट एकेडेमी, गोकर्णेश्वर–६) लाई नगद रु. १,००० सहित प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

विदेशमा रहेर नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएको कदरस्वरूप प्रदान गरिने कल्पतरु प्रवासी साहित्य सम्मान यस वर्ष खेमराज पोखरेल (हाल टेक्सास, अमेरिका) लाई अर्पण गरिने भएको छ।

यसैगरी, कल्पतरु नारी साहित्यकार सम्मान–२०८२/०८३ साहित्यकार सीता पाण्डेयलाई प्रदान गरिने निर्णय गरिएको छ।

कल्पतरु सम्पादन मण्डल, संरक्षक, सल्लाहकार तथा सहयोगीहरूको संयुक्त बैठकले उक्त पुरस्कार तथा सम्मान घोषणा गरेको हो। पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको मिति र स्थान छिट्टै सार्वजनिक गरिने कल्पतरु द्वैमासिकका प्रधानसम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ ले जानकारी दिएका छन्।