काठमाडौं - हाल देशभर मनसुनको प्रभाव खासै धेरै सक्रिय नरहे पनि आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी तथा हिमाली भूभागमा मध्यम खालको वर्षा हुने देखिन्छ।

मौसम पूर्वानुमान अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मौसम नक्सामा यी दुई प्रदेशलाई पहेंलो  रङले सङ्केत गरिएको छ, जसले यी क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गर्छ।

यसैगरी, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशसहित अन्य धेरै भूभागमा भने हरियो रङ कायम रहेकाले तिनमा जोखिमको स्थिति नरहेको र विशेष डराउनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भोलि र पर्सी लुम्बिनी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भूभागमा मौसम नक्सामा पहेंलो सङ्केत राखिएको छ। त्यसैले यी क्षेत्रका स्थानीय बासिन्दाहरूलाई मौसम सम्बन्धी अद्यावधिक जानकारीमा रहन आग्रह गरिएको छ। हिमाली क्षेत्र र मधेश प्रदेशमा भने हरियो सङ्केतै कायम रहनेछ।

समग्रमा मनसुनी सिजन भएकाले पहाडी भूभागमा मेघगर्जन तथा स्थानीय वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको क्रम आगामी दिनहरूमा पनि जारी रहने मौसमविद्हरूले बताएका छन्।