काठमाडौं - नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा सुरुङमार्गको उद्घाटन भोलि (सोमबार) हुने भएको छ। बिहान १०:३० बजे सुरुङमार्गको औपचारिक उद्घाटनसँगै सुरुङमार्ग सीमित रूपमा सञ्चालनमा आउनेछ।

पहिलो चरणमा दमकल, एम्बुलेन्सलगायत आपत्कालीन सेवामा प्रयोग हुने सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने परियोजनाले जनाएको छ। नियमित सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनबारे भने पछि निर्णय गरिने भएको छ। सुरुङमार्ग पूर्ण रुपमा सञ्चालन भएपछि नागढुंगा खण्डमा वर्षौंदेखि हुने ट्राफिक जाम र उकालो सडकका कारण यात्रुले भोग्नु परेको सास्तीको अन्त्य हुनेछ।

नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ। सुरुङभित्र ३.५–३.५ मिटर चौडाइका दुई लेन निर्माण गरिएका छन्, जसबाट दुवैतर्फका सवारीसाधन सुरक्षित रूपमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। सुरुङमार्गमा आधुनिक प्रकाश व्यवस्था, भेन्टिलेसन प्रणाली, आगलागी नियन्त्रणका उपकरण, आपत्कालीन उद्धार प्रणाली तथा निगरानीका लागि अत्याधुनिक प्रविधि जडान गरिएको परियोजनाले जनाएको छ।

नेपालमा पहिलोपटक सञ्चालनमा आउन लागेको यस सुरुङमार्गलाई सडक पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसको सञ्चालनसँगै नागढुंगा–नौबिसे सडकखण्डको ट्राफिक चाप व्यवस्थापनमा सहयोग पुग्नुका साथै यात्रुलाई सहज, सुरक्षित र छिटो आवागमनको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।