काठमाडौं - रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि राति मसी प्रहार भएको छ।

गढीमाई नगरपालिका–४ स्थित पर्सा गाउँमा आयोजित ‘जनतासँग सांसद’ कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बिहीबार कार्यस्थलमै उनीमाथि पछाडिबाट मसी प्रहार गरिएको हो।

सांसद पौडेलका अनुसार जुत्ता लगाउने क्रममा केही व्यक्तिले पछाडिबाट शरीरमा मसी फालेर घटनास्थलबाट भागेका थिए।

पछिल्लो एक सातादेखि सांसद पौडेल आफ्नो निर्वाचन क्षेत्रमा ‘जनतासँग सांसद’ कार्यक्रममार्फत मतदातासँग भेटघाट र अन्तरक्रियामा व्यस्त रहेका छन्। 

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र चाँडै पक्राउ गरिने जनाएको छ । मसी प्रहारको कारण र उद्देश्यबारे भने हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।