काठमाडौं - जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका कार्यकर्ता र विभिन्न हिन्दूवादी सङ्घसंस्थामा आबद्ध युवाबीच तनाव उत्पन्न भएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न मन्दिर परिसरमा भेला भएका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दू सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन्। हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने अडान लिएको थियो।
दुवै पक्षबीच तनाव बढेपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको थियो। त्यसपछि हिन्दू सम्राट सेनाका कार्यकर्ता प्लेकार्डसहित जानकी मन्दिरको मूल प्रवेशद्वार बाहिर धर्नामा बसेका थिए।
श्रम संस्कृति पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका अध्यक्ष साम्पाङले जानकी मन्दिरमा दर्शन गर्ने तयारी गरेका थिए।
घटनापछि अध्यक्ष साम्पाङले मन्दिर प्रवेशमा रोक लगाउने उद्देश्यले केही पक्षले राजनीति गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्ना समर्थकमाथि दुर्व्यवहार भएको उल्लेख गर्दै संयमित रहन र कुनै उक्साहटमा नपर्न आग्रह गरेका छन्।


0 comment