काठमाडौं - चालु आर्थिक वर्षमा करिब २ हजार कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन् । जसमा २० जना त सचिवमात्रै छन् । राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार आर्थिक वर्ष २०८३/८४ मा ५८ वर्षे उमेर हद तथा ५ वर्षे पदावधि पूरा भई १ हजार ९ सय ८५ कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन् ।
जसमा ८७ सहसचिव, २ सय ६ जना उपसचिव र ३ सय २० जना शाखा अधिकृतको अवकाश हुँदैछ । सहायक स्तरका ७ सय ७३ जना र श्रेणीविहीनतर्फ ५ सय ७९ जना अनिवार्य अवकाशमा जान लागेका हुन् । हाल संघ, प्रदेश तथा स्थानीय तहमा ९२ हजार ५ सय २० कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए ।
साउन ४ गते किरणराज शर्माको अवकाश हुँदैछ । वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका शर्मा मुख्यसचिवका दाबेदार थिए, तर सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाएको छ । कार्कीलाई मुख्यसचिव बनाएपछि शर्मा बिदामा बसेका थिए । उनी ५ वर्षे सचिवको अवधि पूरा भएकाले साउन ४ मा सेवानिवृत्त हुँदैछन् ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव लोकनाथ पौडेल उमेर हदका कारण साउन ७ गते अवकाश हुँदैछन् । प्रधानमन्त्री कार्यालयकै अतिरिक्त समूहमा रहेका हरिप्रसाद मैनाली पनि उमेर हदका कारण साउन १९ गते सेवानिवृत्त हुँदैछन् । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डिल्लीराम शर्मा भदौ ३ गते उमेर हदका कारण सेवानिवृत्त हुँदैछन् । उमेर हदकै कारण बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको भदौ ५ गते बिदाइ हुँदैछ । सेवा अवधि पूरा गरेर गृहसचिव राजकुमार श्रेष्ठको पनि भदौ १६ गते अवकाश हुँदैछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ५ वर्षे कार्यकाल पूरा गरी असोज १४ गते अवकाश हुँदैछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरजुकुमार वैद्य उमेर हदका कारण असोज १६ गते घर जाँदैछन् । महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक वैकुण्ठबहादुर अधिकारी असोज १८ गते सेवानिवृत्त हुने भएका छन् ।
राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ समयावधि पूरा गरेर असोज १९ मा घर जाँदैछन् । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउत ५ वर्षे कार्यकाल पूरा गरेर पुस २१ मा बिदा हुँदैछन् ।
लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल माघ १७ गते सेवानिवृत्त हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको फागुन ५ मा अवकाश हुने भएको छ । दुवै जना ५ वर्षे कार्यकाल पूरा गरेर घर जाने भएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका प्रमुख सचिव कृष्णप्रसाद काप्री २०८४ वैशाख ६ मा बिदा हुँदैछन् । उनी उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।
२०८४ जेठ ११ गते महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता लोकराज पराजुली अवकाश हुँदैछन् । रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माको २०८४ असार १ गते अवकाश हुँदैछ । असार १५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशीका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल पनि घर जाँदैछन् । असार २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव इन्दिरा दाहालको अवकाश हुँदैछ । यो वर्ष अवकाश हुने सहसचिवको संख्या पनि धेरै छ ।


0 comment