काठमाडौं - फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सन् २०२६ को फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्।
२७ वर्षीय एम्बाप्पेले प्रतियोगिताका आठ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई पछि पार्दै शीर्ष गोलकर्ताको सम्मान हात पारे। उनले यसअघि कतारमा भएको २०२२ विश्वकपमा पनि आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए।
एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका छन्। विश्वकपको एउटै संस्करणमा उनीभन्दा बढी गोल गर्ने खेलाडी फ्रान्सका जस्ट फन्टेन (१९५८ मा १३ गोल) र हंगेरीका सान्डोर कोचिस (१९५४ मा ११ गोल) मात्र हुन्।
यससँगै एम्बाप्पे पुरुष विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनका नाममा अहिले कुल २२ विश्वकप गोल पुगेका छन्, जुन मेस्सीको भन्दा एक गोल बढी हो।
विश्वकप विजेता स्पेनले भने व्यक्तिगत अवार्डमा पनि वर्चस्व कायम गर्यो। टोलीका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भए।
एम्बाप्पेले तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डविरुद्ध दुई गोल गरे पनि फ्रान्सलाई ६–४ को हारबाट जोगाउन सकेनन्। त्यस हारसँगै फ्रान्स चौथो स्थानमा सीमित भयो।
मियामीमा भएको उक्त खेलपछि एम्बाप्पेले भने, "विश्वकपमा यति धेरै गोल गर्नु निश्चित रूपमा ठूलो उपलब्धि हो र यसले तपाईंलाई अर्कै स्तरमा पुर्याउँछ। तर म शीर्ष गोलकर्ता बन्नुभन्दा पनि फाइनल खेल्न पाएको भए धेरै खुसी हुने थिएँ। यो अवार्डले मेरो खेल जीवन समाप्त भएपछि मेरो विरासतलाई बलियो बनाउनेछ, तर अहिले मेरो ध्यान त्यसतर्फ छैन।"
एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध दुई–दुई गोल गरेका थिए। त्यसपछि अन्तिम ३२ को खेलमा स्विडेनविरुद्ध गोल गरे। अन्तिम १६ मा पाराग्वेविरुद्ध उनले ७०औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे भने क्वार्टरफाइनलमा मोरोक्कोविरुद्ध पनि गोल गर्न सफल भए।
मेसीसँग फाइनलमा ह्याट्रिक गर्दै एम्बाप्पेलाई उछिन्ने अवसर थियो। तर ३९ वर्षीय अर्जेन्टिनी कप्तान न्यु जर्सीमा भएको फाइनलमा गोल गर्न असफल भए र अर्जेन्टिना स्पेनसँग १–० ले पराजित भयो। उनले प्रतियोगितामा आठ खेलबाट आठ गोलमै सीमित रहनुपर्यो।
सर्वाधिक गोलकर्ताको सूचीमा इंग्ल्यान्डका जुड बेलिङ्घम र नर्वेका एर्लिङ हालाण्ड सात–सात गोलसहित संयुक्त तेस्रो स्थानमा रहे। फ्रान्सका उस्मान डेम्बेले र इंग्ल्यान्डका कप्तान ह्यारी केनले समान ६–६ गोल गर्दै त्यसपछि स्थान बनाए।
रोड्री बने २०२६ विश्वकपका उत्कृष्ट खेलाडी, जिते गोल्डेन बल

स्पेनलाई दोस्रो पुरुष विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका मिडफिल्डर रोड्री सन् २०२६ फिफा विश्वकपका उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित गोल्डेन बल अवार्ड जितेका हुन्।
३० वर्षीय रोड्रीले न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोबाट गोल्डेन बल ग्रहण गरेका थिए।
यो रोड्रीको करियरको तेस्रो ठूलो व्यक्तिगत सम्मान हो। उनले सन् २०२३ मा विश्व फुटबलको सर्वोच्च व्यक्तिगत पुरस्कार बालोन डी'ओर जितेका थिए। त्यसपछि सन् २०२४ को युरो कपमा स्पेनलाई उपाधि दिलाउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।
विश्वकपको उत्कृष्ट खेलाडीको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी दोस्रो स्थानमा रहँदै सिल्भर बलका विजेता बने भने फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले ब्रन्ज बल जिते।
उनाइ सिमोन बने उत्कृष्ट गोलरक्षक

विश्वविजेता स्पेनका गोलरक्षक उनाइ सिमोन सन् २०२६ फिफा विश्वकपका उत्कृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लोभ अवार्ड जित्न सफल भएका छन्।
स्पेनले प्रतियोगिताका आठ खेलमध्ये सात खेलमा क्लिन सिट राख्दा सिमोनले केवल एक गोल मात्र बेहोरे। उनी क्वार्टरफाइनलमा बेल्जियमका चार्ल्स डे केटेलारेबाट मात्र गोल खान पुगेका थिए।
२९ वर्षीय सिमोनलाई प्रशिक्षक लुइस डे ला फुएन्तेले आर्सनलका गोलरक्षक डेभिड रायालाई पछि पार्दै पहिलो रोजाइका गोलरक्षक बनाएका थिए। उनले प्रशिक्षकको विश्वासलाई उत्कृष्ट प्रदर्शनमार्फत सार्थक बनाउँदै स्पेनलाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण योगदान दिए।
पाउ कुबार्सी बने प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी

स्पेनका १९ वर्षीय सेन्टर–ब्याक पाउ कुबार्सीले विश्वकपको उत्कृष्ट युवा खेलाडी (बेस्ट यङ प्लेयर) अवार्ड जितेका छन्।
बार्सिलोनाका युवा डिफेन्डर कुबार्सी स्पेनको अभेद्य रक्षापंक्तिका प्रमुख आधार बने। स्पेनले सम्पूर्ण प्रतियोगिताभर केवल एक गोल मात्र बेहोर्यो भने फाइनलमा अर्जेन्टिनालाई लक्ष्यतर्फ एउटा पनि प्रहार गर्न नदिई जम्मा दुई प्रयासमा सीमित राख्यो।
कुबार्सीले स्पेनका लागि विश्वकपका सबै खेलमा एक मिनेट पनि विश्राम नलिई पूरा समय खेले। उनको उत्कृष्ट प्रदर्शनको मद्दतले स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा जितेको विश्वकप उपाधिको सफलता दोहोर्याउन सफल भयो।


0 comment