काठमाडौं - निरन्तर वर्षापछि पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपैह्रो क्षेत्रमा नदी कटानसँगै ठूला चट्टानसहित पहिरो खस्दा नदीको प्राकृतिक बहाव अवरुद्ध भएको हो।
पहिरोका कारण नदीको पानी पूर्ण रूपमा निकास हुन नसक्दा थुनिएको स्थानभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटर बढेको प्रशासनले जनाएको छ।
घटनापछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले आइतबार बिहान घटनास्थलको निरीक्षण गरेको छ।
प्रशासनका अनुसार हाल आसपासका बस्तीमा तत्काल ठूलो जोखिम देखिएको छैन। तर अवस्था संवेदनशील रहेकाले निरन्तर निगरानी भइरहेको छ। नदीको बहाव सुरक्षित रूपमा खुलाउने र सम्भावित जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययन तथा आवश्यक तयारी अघि बढाइएको छ। वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।


0 comment