काठमाडौं - फिफाले स्पेन र अर्जेन्टिनाबीच हुने विश्वकप २०२६ को फाइनल जित्ने टोलीका खेलाडीले ट्रफी र स्वर्ण पदकसँगै च्याम्पियनसिप रिङ पनि प्राप्त गर्ने पुष्टि गरेको छ।

शुक्रबार घोषणा गरिएको यो निर्णयलाई फिफाले आफ्नो प्रमुख प्रतियोगितालाई अमेरिकी खेलकुद शैलीमा अघि बढाउने पछिल्लो संकेतका रूपमा हेरिएको छ।

फिफाका अनुसार न्युयोर्क न्युजर्सी स्टेडियममा हुने फाइनलपछि विजेता टोलीलाई ३० वटा विशेष डिजाइन गरिएका रिङ प्रदान गरिनेछन्। खेल सकिए लगत्तै कप्तान र मुख्य प्रशिक्षकलाई अस्थायी संस्करणका रिङ दिइनेछन्।

त्यसपछि विजेता टोलीको पहिचान झल्किने गरी रिङलाई पुनः डिजाइन गरिनेछ र प्रत्येक व्यक्तिको औँलाअनुसार मिलाएर केही समयपछि औपचारिक रूपमा प्रदान गरिनेछ।

रिङको एक भागमा विश्वकप ट्रफीको आकृति रहनेछ भने अर्को भागमा विजेता टोलीसँग सम्बन्धित विशेष विवरण समावेश गरिनेछ।

खेलाडीका लागि तयार गरिने रिङहरू २,०२६ वटा सीमित संस्करणको हिस्सा हुनेछन्। तीमध्ये खेलाडीलाई प्रदान गरिने रिङबाहेक बाँकी १,९९६ वटा रिङ विश्वभरका समर्थकका लागि आधिकारिक उत्पादनका रूपमा बिक्री गरिनेछन्।

च्याम्पियनसिप रिङ अमेरिकी खेलकुदको पुरानो परम्परा हो। नेसनल फुटबल लिग , नेसनल बास्केटबल एसोसिएसन , मेजर लिग बेसबल  र नेसनल हक्की लिग जस्ता प्रतियोगितामा विजेतालाई यस्ता रिङ दिने चलन छ। तर फिफाको कुनै प्रतियोगितामा भने यसअघि यस्तो परम्परा थिएन।

यसको सुरुवातसँगै फिफाले विश्वकपको प्रस्तुति र शैलीलाई अमेरिकी खेलकुदको ढाँचासँग नजिक ल्याउने प्रयास गरेको देखिएको छ।

आइतबार हुने विश्वकप फाइनलमा पनि ठूलो हाफटाइम मनोरञ्जन कार्यक्रम राखिनेछ जुन अवधारणा विश्वकप भन्दा अमेरिकी सुपर बाउलसँग बढी जोडिन्छ। साथै प्रतियोगिताभर अनिवार्य पानी पिउने विश्राम (हाइड्रेसन ब्रेक) का कारण खेलहरू व्यवहारिक रूपमा चार भागमा विभाजित भएको जस्तो देखिएको छ।

उत्तर अमेरिकाको गर्मी र उच्च आर्द्रताका कारण खेलाडीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै फिफाले यी ब्रेकको नीति लागू गरेको बताउँदै आएको छ। तर खेलको करिब २२औँ र ६७औँ मिनेटमा हुने तीन–तीन मिनेटका विश्रामहरू मौसमको अवस्था अत्यन्तै कठिन नभए पनि अनिवार्य रूपमा लागू गरिएको छ।

यद्यपि सबै खेलमा एउटै किसिमले यी ब्रेक लागू गरिएको विषयमा खेलाडी, प्रशिक्षक र समर्थकहरूले आलोचना गरेका छन्। उनीहरूको तर्क छ कि यस्ता विश्रामले खेलको स्वाभाविक लय बिगार्छन् र टोलीलाई पुनः रणनीति बनाउन थप अवसर दिन्छन् र प्रशिक्षकलाई दुई अतिरिक्त रणनीतिक ‘टाइमआउट’ जस्तै सुविधा प्रदान गर्छन्।

यी विश्रामका कारण खेलको मध्य भागमा विज्ञापन देखाउने समय पनि सिर्जना भएको छ। यद्यपि फिफाले भने यी ब्रेकहरू विज्ञापन प्रसारण गर्ने उद्देश्यले ल्याइएको भन्ने दाबी अस्वीकार गर्दै आएको छ।