काठमाडौं - इंग्ल्यान्डको विश्वकप सपना चकनाचुर, अर्जेन्टिना फाइनलमा

इंग्ल्यान्डको विश्वकप जित्ने सपना चकनाचुर भएको छ। अटलान्टामा भएको रोमाञ्चक सेमिफाइनलमा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै खेल उल्टाएर २–१ को जित निकाल्यो।

थोमस टुचेलको टोली सन् १९६६ पछि पहिलो पटक पुरुष विश्वकप फाइनलमा पुग्ने दिशामा देखिएको थियो। खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले अग्रता दिलाएपछि इंग्ल्यान्ड उत्साहित बनेको थियो।

तर अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो। खेल सकिन पाँच मिनेट बाँकी रहँदा एन्जो फर्नान्डेजले शानदार बराबरी गोल गरे भने इन्जुरी समयमा लियोनेल मेस्सीको क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत जाली चुमाउँदै विजयी गोल गरे।

यस हारसँगै इंग्ल्यान्डको लामो प्रतीक्षा अझै जारी रहनेछ। अब इंग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ भने अर्जेन्टिनाले आइतबार स्पेनविरुद्ध उपाधि जोगाउने प्रयास गर्नेछ।

अटलान्टा स्टेडियमभित्र र बाहिरको तातो वातावरण खेलमै पनि देखियो। पहिलो हाफमा १९ वटा फाउल हुँदा अमेरिकी रेफ्री इस्माइल एलफाथले खेल नियन्त्रणमा राख्न संघर्ष गर्नुपर्‍यो।

एन्जो फर्नान्डेज लामो दूरीको प्रहारबाट गोल नजिक पुगेका थिए। तर अग्रता भने इंग्ल्यान्डले लियो। मोर्गन रोजर्सले दायाँ विंगबाट दिएको सटीक क्रसलाई गोर्डनले टाढाको पोस्टमा गोलमा परिणत गरे।

अग्रता खाएपछि अर्जेन्टिना आक्रामक बन्यो र निको गोन्जालेजको हेडरलाई इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट प्रतिक्रियात्मक बचाउ गर्दै रोक्नुपर्‍यो।

दबाब बढ्दै जाँदा एलेक्सिस म्याक एलिस्टरको हेडर पोस्टमा लाग्यो। अन्ततः खेल सकिन पाँच मिनेट बाँकी रहँदा अर्जेन्टिनाले बराबरी गोल गर्‍यो। २५ यार्ड टाढाबाट आएको शक्तिशाली प्रहारले पिकफोर्डलाई समेत निरुत्तर बनायो।

टुचेलले चार जना केन्द्रीय डिफेन्डर राखेर पेनाल्टी क्षेत्र सुरक्षित गर्ने रणनीति अपनाएका थिए। तर अर्जेन्टिनाको लय रोक्न सम्भव भएन। म्याक एलिस्टरले पुनः पोस्टमा प्रहार गरेपछि ९२औँ मिनेटमा इंग्ल्यान्डको प्रतिरोध अन्ततः भत्कियो र मार्टिनेजले निर्णायक गोल गर्दै सेमिफाइनलको रोमाञ्चक भिडन्तलाई समाप्त गरे।

इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकपको सेमिफाइनल जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले “Las Malvinas Son Argentinas” अर्थात्  “फकल्यान्ड्स अर्जेन्टिनाकै हो” लेखिएको राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन गरेका छन्।

यो कदम फिफाको नियमविपरीत हुन सक्ने बताइएको छ।

फिफाको स्टेडियम आचारसंहिता अनुसार स्टेडियमभित्र राजनीतिक, आपत्तिजनक वा विभेदकारी प्रकृतिका ब्यानर, झण्डा, पर्चा, पोसाक वा अन्य सामग्री प्रदर्शन गर्न निषेध गरिएको छ।

यस विषयमा प्रतिक्रिया माग्दा फिफाले  कुनै आधिकारिक टिप्पणी दिएको छैन।

दक्षिण एटलान्टिक महासागरस्थित ती द्वीपसमूहलाई बेलायतले फकल्यान्ड्स र अर्जेन्टिनाले माल्भिनास भनेर चिन्ने गर्छ। यी द्वीपको सार्वभौमिकताको विषय दुवै देशबीच दशकौँदेखि विवादको केन्द्रमा रहँदै आएको छ।

सन् १९८२ मा यी द्वीपको नियन्त्रणलाई लिएर बेलायत र अर्जेन्टिनाबीच छोटो युद्ध भएको थियो। उक्त युद्धमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिक मारिएका थिए। अन्तत बेलायत विजयी भएको थियो र अधिकांश स्थानीय बासिन्दाले बेलायतकै हिस्सा भएर बस्न चाहेको बताएका छन्।

तर अर्जेन्टिनाले भने १८१६ मा स्पेनबाट स्वतन्त्र भएपछि माल्भिनास आफ्नो भूभाग बनेको र १८३३ मा बेलायतले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै आएको छ।

सेमिफाइनलपछि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेज र जियोभानी लो सेल्सोले उक्त ब्यानर समातेर मुस्कुराउँदै दर्शकतर्फ देखाएका थिए। ब्यानर उनीहरू कहाँ कसरी पुग्यो भन्ने भने स्पष्ट भएको छैन।

विश्वकपका क्रममा राजनीतिक सन्देश प्रदर्शन भएको यो पहिलो घटना भने होइन।

गत महिना लस एन्जलसमा इरानको खेलका क्रममा इरानी–अमेरिकी समर्थकहरूले तेहरान सरकार विरुद्धको प्रतीक मानिने पूर्व–क्रान्ति कालीन इरानी झण्डा प्रदर्शन गरेका थिए। त्यसबेला पनि खेल भने कुनै अवरोध बिना सम्पन्न भएको थियो।