काठमाडौं - सरकारले मिटरब्याजसम्बन्धी यसअघि गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मिटरब्याजपीडितहरू आन्दोलनका लागि काठमाडौंतर्फ अघि बढिरहेका बेला मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन गृह मन्त्रालयमार्फत कार्यान्वयन गर्ने निर्णय गरेको हो।

मिटरब्याजपीडितसँग गृहमन्त्री सुधन गुरुङले निजगढमा वार्ता गरिरहेकै समयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले पाँचवटा निर्णय गरेको जानकारी शिक्षामन्त्री सस्मित पोखरेलले दिए।

बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा बिउविजन (पहिलो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यस्तै, सशस्त्र प्रहरी बल तथा विपद् व्यवस्थापनमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको मन्त्री पोखरेलले बताए। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई नगद पुरस्कार र सम्मान प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै मन्त्रिपरिषद्ले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। उनलाई निगमको महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।