काठमाडौं - थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने २५ जना गम्भीर घाइते भएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार बैंककको लोकप्रिय चाटुचक क्षेत्रमा रहेको रोङ बियर ना लाट फ्राओ बारको स्टेज नजिकबाट आगो सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदा विद्युत् आपूर्ति बन्द भयो र धुवाँले सम्पूर्ण भवन भरियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा आगोबाट जोगिन ग्राहकहरू आत्तिँदै भागिरहेको, केहीका लुगासमेत आगोले जलेको अवस्थामा बारको मुख्य ढोकाबाट बाहिर निस्किरहेको देखिन्छ।

मध्यरातपछि घटनास्थलमा पुगेका दमकलकर्मीहरूले केही समयमै आगो नियन्त्रणमा लिए। उनीहरूले अधिकांश मृतकको शव बारभित्रको शौचालयमा फेला पारे, जहाँ उनीहरू आगोबाट बच्न आश्रय लिन पुगेका थिए।

थाइल्यान्डका राष्ट्रिय प्रहरी प्रमुख किट्राट पानफेटले भने,"मृत्यु भएका अधिकांश व्यक्तिहरू शौचालयमा भेटिए। आगलागी भएपछि उनीहरू आतंकित भए। त्यहाँ बत्ती पनि थिएन।"

लाओसका २४ वर्षीय काओ-उडोन पुङपान्नीले आफ्ना कान्छा भाइलाई बचाउने प्रयास असफल भएको बताउँदै भावुक हुँदै भने,"मैले आगो निभाउने यन्त्र समातेर ढोकातर्फ छर्किएँ, तर त्यसभन्दा अगाडि जान सकिनँ। भित्रबाट मानिसहरू चिच्याइरहेको आवाज सुनिरहेको थिएँ।"

उनका कान्छा भाइको उक्त दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, बैंककको विपद् न्यूनीकरण विभागले आगलागी एयर कन्डिसनर (एसी) मा भएको विद्युतीय सर्ट सर्किटका कारण भएको हुन सक्ने अनुमान गरेको छ। यद्यपि, आगलागीको आधिकारिक कारण भने अझै सार्वजनिक गरिएको छैन।

अधिकारीहरूले घटनाको गहिरो र निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।

थाइल्यान्डमा यस प्रकारको दुर्घटना पहिलो पटक भने होइन। विगतमा भएका यस्तै आगलागीका घटनापछि आगो तथा विद्युतीय सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्ने सरकारी प्रतिबद्धता जनाइए पनि व्यवहारमा ती नियमहरूको कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन।

सन् २०२२ मा बैंककको दक्षिणमा रहेको एक सहरको बारमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको थियो। सन् २००९ जनवरी १ मा बैंककस्थित एक नाइटक्लबमा लागेको आगोमा ६६ जनाको ज्यान गएको थियो भने २०० भन्दा बढी व्यक्ति घाइते भएका थिए। उक्त घटना नयाँ वर्ष मनाइरहेका बेला भएको थियो।

सन् २०२४ मा प्रसिद्ध खुला बजार चाटुचक बजारमा नै विद्युतीय सर्ट सर्किटका कारण आगलागी हुँदा १ हजार भन्दा बढी जनावर मरेका थिए।