काठमाडौं - सिरहाको गोलबजार नगरपालिका–७ मा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहटको जिगरवा स्थायी घर भई लामो समयदेखि गोलबजार–७ मा बसोबास गर्दै आएका अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।
आइतबार दिउँसो करिब २:३० बजे घरबाट खेल्न निस्किएका तीनै बालबालिका पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका हुन्। उक्त खाल्डो गाई, गोरु, भैंसीलगायत पशुहरूलाई पानी खुवाउने उद्देश्यले बनाइएको बुझिएको छ।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। तर चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्।
कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जनाको एकै घटनामा ज्यान गएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


0 comment