काठमाडौं - धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान करिब ६:२० बजे दुर्घटना भएको हो।

बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको उपमेयर भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार पाँच जना तथा उपमेयर भुजेल सवार गाडीमा रहेका तीन जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।