काठमाडौं - निर्वाचन आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधरले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेकी छन्।

यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ६५ वर्षे उमेर हदका कारण असार २३ गते अवकाश भएपछि वरीयता क्रमअनुसार डा. तुलाधरलाई उक्त जिम्मेवारी दिइएको हो। हाल पाँच सदस्यीय निर्वाचन आयोगमा डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र कार्यरत छन्।

यसबीच सरकारले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको नियुक्तिका लागि सिफारिस गरिसकेको भए पनि उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया जारी छ। संसदीय सुनुवाइ समितिले सिफारिस गरिएका तीन जनाविरुद्ध १० दिने उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ) लाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ।