काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ। 

काठमाडौंमा भएको पार्टीको पोलिटव्युरो बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो। त्यसका लागि पार्टीले पहिले गठबन्धनमा आबद्ध दलहरूबारे अध्ययन अनुसन्धान गर्नेछ। 

'वर्तमान गठबन्धनको सरकारका बारेमा हामीले बृहत् छलफल गर्‍यौं। सरकारमा सहभागी हुनुअघि आवश्यक विषयमा अध्ययन गर्नुपर्ने, छलफल र विचार विमर्श गर्नुपर्ने, सरकारले देश र जनताका हितका लागि के-कस्ता कार्यक्रम ल्याउन सक्छ र हाम्रो दलसँग उसको राजनीतिक सम्बन्ध के कस्तो रहनेछ यी विषयको अध्ययन अनुसन्धानपछि मात्र निर्णय गरिनेछ,' पार्टी प्रवक्ता जगननाथ खतिवडाले भने। 

उनले सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको बताए। 

'सरकारका बारेमा अझै धेरै कुरा बुझ्नुपर्ने भएकाले त्यसको अन्तिम निर्णय गर्नका लागि सचिवालयलाई अधिकार प्रदान गरिएको छ। आवश्यक अध्ययन अनुसन्धानपछि सचिवालयले यसबारे निर्णय गर्नेछ,' उनले भने।

त्यस्तै सरकारमा सहभागी हुने विषयमा औपचारिक प्रस्ताव अहिलेसम्म नआएको उनले बताए। 'देशमा गठबन्धनको सरकार बनेको छ। यो सरकारप्रति हाम्रो नकारात्मक धारणा छैन। तर औपचारिकरूपमा सरकारमा सहभागी हुने विषयमा हामीलाई कुनै प्रस्ताव आएको छैन,' उनले भने।

त्यस्तै, बैठकले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए।

'पार्टीले वामपन्थीहरूसँग एकता गर्ने, सहकार्य गर्ने, उनीहरूलाई एक ठाउँमा ल्याउने विगतमा पनि काम गर्दै आएको हो। यो जिम्मेवारी भोलि पनि पूरा गर्नेछ। पोलिटव्युरोले सचिवालयलाई यस सम्बन्धमा आवश्यक निर्णय गर्न अनुमदति प्रदान गरेको छ। वामपन्थीहरूको एकता अभियान सञ्चालन गर्ने काम अब केन्द्रीय सचिवालयले संयोजन गर्नेछ,' उनले भने। 

उनले पार्टी संगठन सुदृढीकरण र सुद्धीकरणको अभियान पनि सञ्चालन हुने बताए। मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टीले संगठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चाल गर्ने भएको हो। त्यस्तै पार्टीलाई आर्थिक आत्मनिर्भरताको बाटोमा लैजाने विषयमा पनि छलफल भएको प्रवक्ता खतिवडाले बताए।