काठमाडौं - विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बिलिङ प्रणाली स्तरोन्नतिसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जना प्रतिवादीलाई सफाइ दिएको छ।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सबै प्रतिवादीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो।
अख्तियारले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने क्रममा ठूलो आर्थिक अनियमितता तथा मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितका प्रतिवादीले पदको दुरुपयोग गरी राज्यकोषलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको भन्दै आयोगले उक्त मुद्दामा प्रतिवादीहरूविरुद्ध करिब ३३ करोड रुपैयाँ बिगो दाबी गरेको थियो।
सफाइ पाउनेहरूमा सुनील पौडेल, संगीता पहाडी (संगीता अर्याल), प्रतिभा वैद्य (प्रतिभा श्रेष्ठ), राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमुल प्रधान, राजीवकुमार केसी, हेमप्रभा कर्ण (हेमप्रभा रामप्रताप कर्ण), नवल चौधरी, मुक्तिप्रसाद अर्याल, सन्तोषकुमार श्रेष्ठ, परमात्मा भट्टराईलगायत रहेका छन्।
विशेष अदालतले सबै प्रतिवादीविरुद्धको भ्रष्टाचार आरोप पुष्टि हुने पर्याप्त आधार नदेखिएको निष्कर्षसहित सफाइ दिएको हो।


0 comment