काठमाडौं - आफ्ना मागको सुनुवाई नभएको भन्दै मिटरब्याज पीडितहरुले न्याय माग्दै जनकपुर देखि काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन् ।

बिहीबार जनकपुरमा फर्जी तमसुल लेखिएको पर्चा जलाउदै मिटरव्याजबिरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाईमा मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल यात्रा सुरु गरेका हुन् । सरकारले आफुहरुसंग पटक पटक सहमति गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले न्याय माग्दै पैदलै काठमाडौं आउन लागेको जनाएका छन् ।

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरब्याजबिरुद्ध किसान मजदुर आन्दोलन नेपालको गुनासो छ ।

उनीहरुले फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी कानून बनाउनुपर्ने, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्नुपर्ने लगाएतका माग राखेका छन् ।