काठमाडौं - सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

कैलालीको गेटामा करिब ७ अर्ब रुपैयाँको लागतमा ६ सय शय्याको अस्पताल निर्माण गरिएको हो। अस्पताललाई चिकित्सा शिक्षा अध्यापन तथा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको भए पनि लामो समयसम्म यसलाई मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालयमध्ये कुन संरचनामा सञ्चालन गर्ने भन्ने विषयमा अन्योल रहेको थियो।

सरकारले सो अन्योल अन्त्य गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरी सम्बन्धित ऐनसमेत जारी गरिसकेको छ। विश्वविद्यालयले गत फागुनमै शैक्षिक जनशक्ति व्यवस्थापनका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको थियो।

विश्वविद्यालयले फिजियोलोजी, प्याथोलोजी, ईएनटी, जनरल सर्जरी, एनेस्थेसियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन तथा फार्माकोलोजीलगायत विषयमा जनशक्ति पदपूर्तिको प्रक्रिया सुरु गरेको जनाएको छ।

यसअघि विश्वविद्यालय सभाले गत वर्ष पुसमा उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा खेमराज जोशीलाई नियुक्त गरेको थियो। तर सरकारले अध्यादेश जारी गरेपछि दुवै पदाधिकारी पदमुक्त भएका थिए।

यसैबीच, मन्त्रिपरिषद् बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित शैक्षिक कार्यक्रम तथा शैक्षिक परामर्श संस्थासम्बन्धी दुईवटा नयाँ नियमावली पनि पारित गरेको छ।

सरकारले ‘शैक्षिक परामर्श, भाषा तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ र ‘विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ जारी गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।


नियमावलीअनुसार अब शैक्षिक कन्सल्टेन्सी स्थापना गर्न तथा शाखा कार्यालय खोल्न २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ।