काठमाडौं - तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय, चितवनले सम्झौताका लागि आह्वान भएको छ ।
आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्न लागिएको हो । खोलामा गइरहने पहिरोका कारण यसअघि यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।
पहिरोको उच्च जोखिममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा गत वर्षको असोज ३ र ७ गते ठूलो पहिरो खस्दा १०४ घण्टा सडक अवरुद्ध भएको थियो ।
डिभिजन सडक कार्यालय, चितवनका प्राविधिक अर्जुन घिमिरेले सम्झौताअनुसार छनोट भएको कम्पनीले तुइन खोलामा आगामी दश महिनाभित्रनै पहिरो रोकथामको काम सक्नुपर्ने प्रावधान रहेको जानकारी दिए।
घिमिरेले खोलाको नारायणगढतर्फको भित्तोमा रोकथाम गर्न लागिएको पर्खालको लम्बाइ १६५ मिटर र चौडाइ १०५ मिटर रहेको बताउनुभयो ।
केही वर्ष अघि सडक विस्तारका क्रममा सडक खनिएको काटिएको भित्तामा गत वर्ष एकाएक पहिरो खसेपछि सो स्थान जोखिममा परेको थियो ।
सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरण राखिएका छन् ।


0 comment