काठमाडौं - प्रतिनिधिसभाको दोस्रो बैठक अहिले जारी छ । बैठक प्रारम्भ हुनासाथ सभामुखप्रति लक्षित गरी भएको अभिव्यक्तिपछि उत्पन्न विवादका कारण पहिलो बैठक केहीबेरका लागि स्थगित गरिएको थियो ।
बैठकको सुरुमै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । यसैबीच नेकपा (एमाले)का राजेन्द्रकुमार राईले बोल्न सुरु गरेसँगै सभामुख डोलप्रसाद अर्यालले थप नबोल्न र आसन ग्रहण गर्न निर्देशन दिए । त्यसलगत्तै एमालेका अरु सांसदले पनि उठेर विरोध गरे ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद टीका सङ्ग्रौला (ज्वाला)ले सभामुखप्रति अपमान भएको भन्दै नियमापत्ति गरिन् । सो सन्दर्भमा सांसद राईले माफी माग्ने सन्देश पठाएपछि सभामुख अर्यालले पुनः राईलाई बोल्न समय दिए । तर विवादले नयाँ स्वरुप लिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगन गरे।
आजको बैठकको सुरुमा केही सांसदले सीमासम्बन्धी अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरेका थिए ।
यसअघि बैठकमा सभामुख आर्यालले नेपाली कांग्रेसका प्रमिलाकुमारी गच्छदारलाई बोल्न समय दिएका थिए। सांसद गच्छदारले आफूहरूले पटकपटक आवाज उठाए पनि स्पष्ट जवाफ नआएको गुनासो गरिन् ।


0 comment