काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई घुससहित पक्राउ गरेको छ।

आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यादवलाई सेवाग्राहीबाट १२ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। पक्राउका क्रममा उनीसँग घुस रकमबाहेक स्रोत नखुलेको १ लाख ३३ हजार १२० समेत बराम भएको छ। यससँगै १ लाख ४५ हजार १२० नगद र एउटा मोबाइलसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।