काठमाडौं - जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर गरेको छ।
अदालतले मंगलबार उक्त मुद्दामा फैसला सुनाउँदै रायमाझी, खाण, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डेलगायत १४ जनालाई दोषी ठहर गरेको हो। अदालतको संक्षिप्त आदेशअनुसार उनीहरूले संगठित रूपमा ठगी गरी राज्यविरुद्धको अपराधसमेत गरेको ठहर गरिएको छ।
यस्तै, एकीकृत कसूरतर्फ बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई राज्यविरुद्धको कसूरमा मतियारका रूपमा अपराध गरेको अदालतले जनाएको छ।
उक्त मुद्दामा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले भने सफाइ पाएका छन्।
फरार रहेका प्रतिवादी अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकीका हकमा पक्राउ परेपछि कानुनबमोजिम कारबाही हुने गरी मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ।
अदालतले दोषी ठहर भएका प्रतिवादीको सजाय निर्धारण सम्बन्धी प्रक्रिया भने कानुनबमोजिम पछि अघि बढाइने जनाएको छ।


0 comment