काठमाडौं - सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो ।
त्यसक्रममा उक्त ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागूऔषध डाइजोपाम २०० एम्पुल, हाइड्रोक्लोराइड २०० एम्पुल र बुप्रेनोर्फिन २ पिस, फेला परेको हो ।
उक्त लागूऔषध, ई–रिक्सा र ती महिलासहित पक्राउ परेका अन्य दुई जनालाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै सशस्त्र प्रहरीले वीरगन्जबाटै अवैध रूपमा भन्सार छलेर ल्याइएका ठूलो परिमाणका औषधि बरामद पनि गरेको छ । वीरगन्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी सिर्सियाबाट खटिएको टोलीले ५ लाख मूल्य बराबरको ओैषधि बरामद गरेको हो ।
तस्करहरू फरार भएपछि घटनास्थलबाट सशस्त्र प्रहरीको टोलीले करिब पाँच लाख रुपैयाँ बराबरको चार कार्टुन भिटामिनलगायतका औषधि बरामद गरेको हो । बरामद गरिएका ती अवैध औषधिहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।


0 comment