काठमाडौं - मिकेल मेरिनोले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। डलासमा सम्पन्न अन्तिम १६ को बहुप्रतिक्षित प्रतिस्पर्धामा स्पेनले अन्तिम क्षणमा गोल गर्दै पोर्चुगल तथा अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोलाई प्रतियोगिताबाट बाहिर्यायो।

खेलको ९१औँ मिनेटमा विकल्पका रूपमा मैदान प्रवेश गरेका मेरिनोले फेरान टोरेसको पासलाई सदुपयोग गर्दै गोलरक्षक डियोगो कोस्टालाई छलाएर बल जालीमा पठाए। सोही एक गोल स्पेनलाई अन्तिम आठमा पुर्‍याउन पर्याप्त बन्यो।

यस जितसँगै स्पेनले सन् २०१० को विश्वकपमा पनि अन्तिम १६ मा पोर्चुगललाई १–० ले हराएको इतिहास दोहोर्याएको छ। अब स्पेनले क्वार्टरफाइनलमा सह-आयोजक अमेरिका र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

पराजयसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ। उनले यसअघि नै यो विश्वकप आफ्नो अन्तिम हुने घोषणा गरेका थिए।

स्पेनले खेलको तेस्रो मिनेटमै अग्रता लिने उत्कृष्ट अवसर पाएको थियो। डानी ओल्मोको पासमा मिकेल ओयार्जाबाल डिफेन्सलाई छलेर अगाडि बढे पनि उनको प्रहार गोलपोस्टभन्दा बाहिरियो।

त्यसपछि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले लामिन यामाल र एलेक्स बाएनाको लगातार दुई प्रहार उत्कृष्ट रूपमा बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए।

पहिलो हाफको ४१औँ मिनेटमा भने पोर्चुगल गोलको निकै नजिक पुगेको थियो। नुनो मेन्डेसको शक्तिशाली प्रहार पेड्रो पोरोमा लागेर दिशा परिवर्तन हुँदै क्रसबारमा ठोक्किएपछि स्पेनले ठूलो राहत पायो। त्यसपछि दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरीमा टुंग्याए।

दोस्रो हाफमा पोर्चुगलले खेलमा पकड बढाए पनि अन्तिम तेस्रो भागमा प्रभावकारी अवसर सिर्जना गर्न सकेन। कप्तान रोनाल्डो अधिकांश समय निराश देखिए भने टोलीले पनि उनको लागि स्पष्ट गोल अवसर बनाउन सकेन।

७६औँ मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहार साइड नेटिङमा लाग्दै बाहिरियो। अर्कोतर्फ स्पेनका डानी ओल्मोको प्रहारलाई रुबेन डियासले साहसिक रूपमा ब्लक गर्दै पोर्चुगललाई खेलमा कायम राखेका थिए।

तर इन्जुरी समयमा स्पेनका दुई विकल्प खेलाडीबीच उत्कृष्ट तालमेल बन्यो। फेरान टोरेसले मिलाएको पासमा मिकेल मेरिनोले चिसो दिमागका साथ गोल गर्दै स्पेनलाई रोमाञ्चक जित दिलाए र पोर्चुगलको विश्वकप अभियानसँगै रोनाल्डोको विश्वकप करियरमा पनि पूर्णविराम लगाए।