काठमाडौं - ब्राजिलका स्टार फुटबलर नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका छन्।

विश्वकप २०२६ को अन्तिम १६ मा ब्राजिल नर्वेसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि उनले यो निर्णय सार्वजनिक गरेका हुन्।

आइतबारको खेलपछि भावुक बनेका नेयमारले भने, “मैले सक्दो प्रयास गरेँ। मेरो यात्रा यहीँ, मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो र यहीँ आएर समाप्त भयो। अब यो अध्याय समाप्त भएको छ।”

३४ वर्षीय नेयमारले सन् २०१० अगस्ट १० मा अमेरिकाविरुद्ध न्यू जर्सीको इस्ट रदरफोर्डस्थित मैदानमा भएको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि डेब्यु गरेका थिए।

ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल पनि फुटबलका महान् खेलाडी पेलेभन्दा कम उमेरमै गरेका थिए।

नर्वेविरुद्धको खेलमा नेयमार दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। खेलको अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले ब्राजिलका लागि एक गोल फर्काए। तर अन्तिम सिटी बज्नासाथ उनी भावुक हुँदै मैदानमै आँसुमा डुबेका थिए। त्यसपछि उनका टोलीका साथीहरूले उनलाई सम्हालेका थिए।

दायाँ खुट्टाको पिँडुलाको चोटका कारण नेयमारले यस विश्वकपमा ब्राजिलका पाँच खेलमध्ये केवल दुई खेल मात्र खेले। समूह चरणमा स्कटल्यान्डविरुद्ध पनि उनी करिब १५ मिनेट मात्र मैदानमा उत्रिएका थिए।

एक दशकभन्दा बढी समयसम्म ब्राजिलका प्रमुख खेलाडी रहेका नेयमार पछिल्ला केही वर्षयता लगातार चोटका कारण आफ्नो उत्कृष्ट प्रदर्शन दिन संघर्षरत थिए। अब ब्राजिल नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै संक्रमणकालीन चरणमा प्रवेश गरेको छ।

टोलीका कप्तान मार्किन्होसले समर्थकलाई धैर्य गर्न आग्रह गर्दै भने, “हामी सबैसँग नयाँ पुस्ताप्रति धैर्य राख्न र सुरुदेखि नै उनीहरूलाई साथ दिन अनुरोध गर्छौं।”