काठमाडौं - एर्लिङ हालान्डले दोस्रो हाफमा दुई महत्वपूर्ण गोल गरेपछि नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको पहिलो हाफमा ब्राजिलले अग्रता लिने सुनौलो अवसर पाए पनि ब्रुनो गुइमाराएसको पेनाल्टी नर्वेका गोलरक्षक ओर्जान नाइल्यान्डले उत्कृष्ट बचाउ गरे। त्यसपछि अधिकांश समय प्रभावहीन देखिएका हालान्डले ७९औं मिनेटमा एन्ड्रियास स्केल्डेरुपको क्रसमा गाब्रियललाई उछिन्दै हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए।

निर्धारित समयको ९०औं मिनेटमा हालान्डले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको सशक्त लो-सट गोलमा परिणत भएपछि नर्वेको जित सुनिश्चित भयो।

इन्जुरी समयमा ब्राजिलले दोस्रो पेनाल्टी पायो। रेफ्री इस्माइल एलफाथले लियो ओस्टिगार्डले कासेमिरोलाई कुहिनाले प्रहार गरेको ठहर गरेपछि नेयमारले पेनाल्टीलाई गोलमा परिणत गरे। तर त्यो गोल ब्राजिलका लागि केवल सान्त्वनामै सीमित रह्यो।

यस हारसँगै ब्राजिल सन् १९९० यता पहिलो पटक विश्वकपको क्वार्टरफाइनलअघि नै प्रतियोगिताबाट बाहिरिएको छ।

अब क्वार्टरफाइनलमा नर्वेले इंग्ल्यान्ड र सह-आयोजक मेक्सिकोबीच अन्तिम १६ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

न्यु जर्सीमा भएको खेलको चौथो मिनेटमै प्याट्रिक बेर्गले बललाई जाली चुमाएका थिए। तर अलेक्जेन्डर सोर्लोथ अफसाइड रहेको निर्णय भएपछि गोलले मान्यता पाएन।

त्यसपछि ब्राजिलले १५औं मिनेटमा अग्रता लिने अवसर पायो। क्रिस्टोफर आजरले पेनाल्टी क्षेत्रमा माथेउस कुन्हामाथि फाउल गरेपछि पेनाल्टी दिइएको थियो। तर गुइमाराएसको कमजोर प्रहार नाइल्यान्डले सहजै रोके।

३५ वर्षीय नाइल्यान्डले त्यसपछि पनि उत्कृष्ट प्रदर्शन गर्दै भिनिसियस जुनियरको खतरनाक अवसर विफल पार्दै टोलीलाई खेलमा टिकाइराखे।

दोस्रो हाफको ५८औं मिनेटमा मैदान प्रवेश गरेका युवा फरवार्ड एन्ड्रिकले आफ्नो पहिलो स्पर्शमै गोल गर्ने अवसर पाए पनि एक्लै गोलरक्षकसँग सामना हुँदा लक्ष्यमा प्रहार गर्न सकेनन्।

त्यसपछि प्रशिक्षक कार्लो एन्चेलोटीले ६८औं मिनेटमा नेयमारलाई मैदानमा उतारे पनि खेलको अन्तिम चरणमा नर्वे नै हावी बन्यो। एलिसनले स्केल्डेरुपको एउटा प्रहार बचाए पनि त्यसलगत्तै सोही खेलाडीको क्रसमै हालान्डले शानदार हेडरमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए।

८६औं मिनेटमा पनि नाइल्यान्डले ब्राजिलको अर्को प्रयासलाई पोस्टमा धकेल्दै उत्कृष्ट बचाउ गरे। त्यसको केहीबेरपछि हालान्डले बक्सबाहिरबाट गरेको शानदार प्रहार गोलमा परिणत गर्दै आफ्नो दोस्रो गोल पूरा गरे।

यससँगै हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्‍याउँदै फ्रान्सका किलियन एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेसीसँग गोल्डेन बुट दौडमा बराबरी गरेका छन्।