काठमाडौं - डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा परी एक महिलाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्।

आइतबार बिहान करिब ३:०० बजेतिर आएको बाढी घरहरूमा पसेपछि स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ भने अन्य तीन जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ।

घटनापछि तनावका कारण मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक बेहोस भएका छन्। उनीहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रारम्भिक विवरणअनुसार बाढीले एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ,जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन गरिएको छ। प्रहरीले थप क्षतिको विवरण संकलन गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।