काठमाडौं - नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ।
बिहीबार साँझ महोत्तरीको गौशालाबाट पक्राउ परेका कोइरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जिल्ला अदालत महोत्तरीमा उपस्थित गराएको थियो। अदालतको आदेशपछि उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।
दोस्रो मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको घटनामा उच्च अदालत जनकपुरले बुधबार कोइरीलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो।
उनी सांसद निर्वाचित भएपछि लामो समय फरार सूचीमा रहेका थिए। तर उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेपछि कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरी कारागार चलान गरिएको हो। यसअघि उक्त मुद्दामा महोत्तरी जिल्ला अदालतले कोइरीलाई सफाइ दिएको थियो।


0 comment