काठमाडौं - नेपाल आयल निगमले कुनै पनि विशेष कारण बिना पेट्रोल पम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायी माथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ ।

पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाए पछि बुधबार देशभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएको थियो । निगमले मंगलबार राजधानीका प्राय पम्पहरुमा अनुगमन पनि गरेको थियो ।

निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली,२०७५ संशोधन गर्दै यस्तो कसुर गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा पाँचदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने कानुनी व्यवस्था समेत गरेको हो ।

अत्यावश्यक वस्तुको आपूर्ति असहज बनाउने व्यवसायी माथि कारबाही गर्न स्पष्ट कानुनी व्यवस्था नभएको पाएपछि उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिएकी थिइन् ।

मन्त्री यादवको निर्देशन लगत्तै निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ को दफा २९(घ)(१) मा “बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने” भन्ने व्यवस्था थप गर्ने निर्णय गरेको हो ।

संशोधित व्यवस्थाअनुसार पहिलो पटक यस्तो कसुर गरेमा तीन लाख रुपैयाँ जरिवाना गरी पाँच दिनसम्म निगमबाट इन्धन आपूर्ति रोक्का गरिनेछ ।

दोस्रो पटक कसुर दोहोरिएमा छ लाख रुपैयाँ जरिवाना सहित १० दिन आपूर्ति बन्द गरिनेछ । त्यसैगरी तेस्रो पटक पनि उल्लङ्घन गरेमा १० लाख रुपैयाँ जरिवाना गरी १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको छ।

यो नयाँ व्यवस्थासँगै अब उचित कारण बिना पेट्रोल पम्प बन्द गरी कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्न स्पष्ट आधार तयार भएको निगमले जनाएको छ ।