काठमाडौं - सरकारले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकलाई कडा जरिवाना गर्ने व्यवस्था ल्याउने तयारी गरेको छ। यसका लागि सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको मस्यौदा तयार पारिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार रगतमा अल्कोहलको मात्रा तोकिएको सीमाभन्दा बढी भेटिएमा दुईपांग्रे सवारी चालकलाई २५ हजार, साना सवारी चालकलाई ३५ हजार तथा मझौला र ठूला सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था राखिएको छ।

सरकारको यो प्रस्ताव सार्वजनिक भएसँगै यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ। कतिपयले सवारी नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही आवश्यक रहेको बताएका छन् भने केहीले सडक पूर्वाधार र ट्राफिक व्यवस्थापनको अवस्था सुधार नगरी चर्को जरिवाना मात्रै बढाउनु उपयुक्त नहुने तर्क गरेका छन्।

यसै विषयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सञ्चारकर्मीले प्रश्न गरे, ‘रक्सी खानेलाई ५० हजार रुपैयाँसम्म जरिवाना राख्ने प्रस्ताव छ, अनि गाँजा सेवन गरेर सवारी चलाउनेलाई कति जरिवाना राख्नुहुन्छ?’

प्रश्न सुनेपछि मन्त्री पोखरेल केहीबेर मुस्कुराए। त्यसपछि उनले भने, ‘त्यो अहिले सबै प्रस्तावित मात्रै हो। सम्बन्धित मन्त्रालयले त्यसबारे स्पष्ट पारिसकेको छ।’

सरकारले हाल ल्याएको व्यवस्था अन्तिम निर्णय नभई ऐन संशोधनका लागि तयार पारिएको मस्यौदा मात्रै रहेको उनको भनाइ थियो।

प्रस्तावित मस्यौदाअनुसार चालकको रगतमा अल्कोहलको मात्रा ०.०५ ग्राम प्रतिडेसिलिटरभन्दा बढी भएमा मापसे गरेको मानिने व्यवस्था गरिएको छ। ३० वर्षभन्दा कम उमेरका वा परीक्षणकाल (प्रोबेसन) मा रहेका चालकका लागि भने यो सीमा ०.०२ ग्राम प्रतिडेसिलिटर तोकिएको छ।