काठमाडौं - विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले रास्वपा कार्यालय वनस्थलीमा प्रदर्शन गरेका छन् । 

रास्वपा सभापति रवि लामिछानेलाई आफ्ना मागका बारेमा जानकारी गराउन पार्टी कार्यालय बनस्थली पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरुले सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित हुँदै प्रदर्शन गरेका हुन् । रास्वपा सभापति लामिछानेलाई भेट्न नदिएपछि जबरजस्ती कार्यालयभित्र खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो ।

सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले सुरक्षाकर्मीहरुले सभापतिलाई भेट्न दिने भन्दै झुक्काएको गुनासो गरेका छन् ।

सडक पेटीलाई कार्य क्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दुष्टियुक्त व्यक्तिहरुमाथि काठमाडौं महानगर लगाएत विभिन्न निकायहरुले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको उनीहरुको भनाइ छ । केही दिनदेखि उनीहरुले माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।