काठमाडौं - सरकारले गएरातिदेखि लागु हुने गरी डिजल र पेट्रोलको मूल्य घटाएलगत्तै काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरूले बन्द गरेका छन्। इन्धनको भाउ घट्दा घाटा बेहोर्नुपर्ने डरले निजी व्यवसायीहरूले पम्प बन्द गरेपछि उपभोक्ताहरू चरम मारमा परेका छन्।

निजी पम्पहरू बन्द भएपछि इन्धन भर्नका लागि सर्वसाधारणहरू सरकारी पम्पहरूमा धाउन बाध्य भएका छन्। हाल खुला रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित सरकारी पेट्रोल पम्पहरूमा सवारी साधनको  लामो लाइन लागेको छ। घण्टौँसम्म लाइनमा बस्नुपर्दा सर्वसाधारणको दैनिक कामकाज प्रभावित भएको छ।

इन्धनको भाउ बढ्दा रातभरी पम्प खोलेर तेल बेच्ने निजी व्यवसायीहरूले घट्दा भने एकाएक पम्प बन्द गरेर 'नो स्टक' को सूचना टाँस्ने गरेका छन्।

मूल्य वृद्धि हुँदा बढी नाफा कमाउन राति ढिलासम्म पम्प खोल्ने र मूल्य घट्दा नोक्सान बचाउन कृत्रिम अभाव सिर्जना गर्ने निजी पम्प सञ्चालकहरूको यो प्रवृत्तिप्रति उपभोक्ताहरूले कडा आक्रोश पोखेका छन्। बजारमा यस्तो अराजकता देखिँदा पनि सम्बन्धित निकाय र जिम्मेवार प्रशासन भने मौन बसेको उपभोक्ताहरूको आरोप छ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ ।

निगमले  पेट्रोलमा प्रतिलिटर  २०, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर  १०० रुपैयाँ घटाएको छ ।