काठमाडौं - विशेष अदालतले राहदानी विभागको महानिर्देशक तीर्थराज अर्यालसहित सबैलाई रिहा गर्न आदेश दिएको छ।  सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सबै प्रतिवादीलाई रिहा गर्न आदेश दिएको हो।

विशेष अदालतले महानिर्देशक अर्याललाई पाँच लाख, सुनलिकुमार केसीलाई चार लाख, सोमेश थापालाई तीन लाख, विपिन प्रसाईंलाई तीन लाख, मणिचन्द्र मल्ललाई पाँच धरौटीमा रिहा गर्न आदेश दिएको हो।  तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

राहदानी छपाइको ठेक्कामा भ्रष्टाचार गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असार ८ मा मुद्दा दायर गरेको थियो।  १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा अर्यालसहित १६ जना र दुई वटा ठेकेदार कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

दुई जर्मन कम्पनी र ती कम्पनीका सञ्चालकलाई पनि प्रतिवादी बनाउँदै भ्रष्टाचारमा मतियारको आरोप लगाइएको छ।