काठमाडौं - काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमणको जोखिम बढ्दै गएको छ। पछिल्लो पटक कागेश्वरी मनोहरा नगरपालिका–३, भद्रबासस्थित बीपीचोक सडकखण्डमा रहेको बढिमालिका कुखुरा फर्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि दानासहित करिब २,७०० कुखुरा नष्ट गरिएको छ।
संक्रमण पुष्टि भएलगत्तै नगरपालिका, पशु सेवा विभाग तथा प्राविधिक टोलीले फर्ममा रहेका सबै संक्रमित तथा जोखिममा रहेका कुखुरा नष्ट गर्नुका साथै संक्रमण नियन्त्रणका आवश्यक उपायहरू अपनाउन सूचित गरेको छ। सोही वडाको थापा डाँडा क्षेत्रमा यसअघि पनि बर्डफ्लु संक्रमण देखिएको थियो।
कागेश्वरी मनोहरासँगै जोडिएको गोकर्णेश्वर नगरपालिकाका केही वडामा रहेका कुखुरा फर्ममा पनि यसअघि बर्डफ्लु फैलिएको थियो। त्यसबेला सम्बन्धित निकायको टोलीले संक्रमित कुखुरा नष्ट गर्नुका साथै किसान र स्थानीयवासीलाई संक्रमणबाट सुरक्षित रहने उपायबारे सचेतना प्रदान गरेको थियो।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौँ उपत्यकामा कागमा बर्डफ्लु संक्रमण देखिएपछि रोग व्यापक रूपमा फैलिएको हो। उनका अनुसार काग संक्रमणको प्रमुख वाहक बनेकाले उपत्यका अहिले बर्डफ्लुको 'हट स्पट'का रूपमा देखिएको छ।
हाल देशभरका ११ जिल्लाका करिब १०० स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भइसकेको विभागले जनाएको छ। संक्रमण थप फैलिन नदिन कुनै पनि शंकास्पद बिरामी वा मरेका पन्छी देखिएमा तत्काल नजिकको पशु सेवा निकायलाई जानकारी गराउन तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।


0 comment